ललितपुर । यही भदौ २३ र २४ गते जेनजी प्रदर्शनपछि सिर्जित असामान्य परिस्थितिका कारण देशभरका विभिन्न कारागारबाट भागेकामध्ये ३ हजार ७ सय २३ जना कैदीबन्दी पक्राउ परेका छन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले २०८२ भदौ २९ गते मध्याह्नसम्ममा ३ हजार ७ सय २३ कैदीबन्दी पक्राउ गरी कारागमा ल्याइएको जनाउँदै अझै १० हजार ३ सय २० जना कैदीबन्दी फरार रहेकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणमा आग्रह गर्नु भएको छ ।
उहाँले अपराध कर्ममा संलग्न रहेको प्रमाणित भएका र आरोप लागेकाहरू कारागारबाट बाहिरिएका कारण सुरक्षा सतर्कता अपनाउन आगर्ह गर्नु भएको हो ।
उहाँका अनुसार कतिपयलाई भारत भाग्न खोजिरहेको अवस्थामा भारतीय प्रहरीले समातेर फिर्ता गरेका छन् भने कतिपय सेना, प्रहरी र सशस्त्र प्रहरीले पक्राउ गरेका हुन् ।
कतिपय आफैँ फिर्ता भएर कारागार आएका बताउँदै प्रवक्ता घिमिरेले कैदीबन्दीको खोजी अभियान जारी रहेको उल्लेख गर्नु भयो ।
यही मौका छोपेर मुलुकभरका प्रहरी कार्यालयका हिरासतबाट भागेकामध्ये १ सय ३९ जना थुनुवालाई पक्राउ गरिएको प्रवक्ता घिमिरेले जानकारी दिनु भयो । उहाँका अनुसार अझै २ हजार १ सय जना थुनुवा ‘फरार’ छन् ।
रास्वपाका कार्यकर्ताको एउटा टोलीले २०८२ भदौ २४ गते नख्खु कारागारबाट सो पार्टीका सभापति रवि लामिछानेलाई बलजफ्ती निकालेपछि देशभरका कारागारबाट १३ हजारभन्दा बढी कैदीबन्दी बाहिरिएका थिए ।
लामिछानेलाई सहकारी ठगीलगायतको मुद्दामा सर्वोच्च अदालतले पूर्पक्षका लागि थुनामा पठाएको हो ।
(फाइल तस्वीरः गोरखापत्रबाट)