पोखरा । कर्मफ्लाइट्स फाउण्डेशन नेपाल, पोखरा र नेपाल एपीएफ मुक्तिनाथ फिल्ड अस्पताल पोखरा (सशस्त्र प्रहरी बल, नेपाल) को संयुक्त आयोजनामा तथा निसीखोला गाउँपालिकाको स्वीकृति र समन्वयमा बागलुङ जिल्लाको निसीखोला गाउँपालिका वडा नं २, अर्नाकोटमा एक दिने निःशुल्क स्वास्थ्य शिविर २०८२ भदौ २१ गते सञ्चालन भएको छ ।
निसीखोला गाउँपालिका वडा नं २ का वडा अध्यक्ष कुबिर विश्वकर्माले शिविरको उद्घाटन गर्नु हुँदै शिविरमा अर्नाकोट सहित छेडा, थुम्ना, सिन्डेरी, डेलढारा, खलबाङ, जडभरा, निन्नेचौर, चौर, घाम्पु, पाखापानी तथा ढोरपाटनका विभिन्न वडाबाट सेवाग्राही स्वास्थ्य परीक्षणका लागि सहभागी हुनु प्रशंसनीय भएको हुँदा स्वास्थ्य र शिक्षासम्बन्धी सचेतनामुलक कार्यक्रमलाई ग्रामीण स्तरसम्म ल्याउने संस्था कर्मफ्लाइट्स फाउण्डेशन प्रति आभार प्रकट गर्नु भयो ।

शिविरको नेतृत्व कर्मफ्लाइट्स फाउन्डेशनका स्वास्थ्य संयोजक कृष्णप्रसाद पाण्डे र एपीएफ फिल्ड अस्पताल पोखराका प्रमुख चिकित्सक डा. आकर्षा श्रेष्ठले समन्वय गर्नु भएको शिविरमा एपीएफ फिल्ड अस्पतालका तीन जना स्वास्थ्यकर्मी र अर्नाकोट स्वास्थ्य इकाईका चार जना स्वास्थ्यकर्मी सहितको टोलीले बिरामीको स्वास्थ परीक्षण गर्नु भएको थियो ।
डा. श्रेष्ठले अर्नाकोटमा स्वास्थ्य शिविरमा सेवा दिन पाउँदा गर्व महसुस भएको बताउँदै समुदायलाई सहज स्वास्थ्य सेवा आवश्यक रहेको उल्लेख गर्नु भयो ।
उहाँले स्थानीयको सरलता, आत्मीयता र अर्नाकोटको अनुपम दृश्यप्रति प्रशंसा व्यक्त गर्दै, सशस्त्र प्रहरी बल केवल सीमाको सुरक्षाका लागि मात्र नभई विपद् व्यवस्थापन र नागरिक स्वास्थ्य सेवामा पनि संलग्न हुने संस्था भएको प्रष्ट पार्नु भयो ।
स्वास्थ्य संयोजक कृष्णप्रसाद पाण्डेले आठ वर्षअघि पहिलो शिविर सञ्चालन गरेको स्मरण गर्दै अर्नाकोटप्रति आत्मीय सम्बन्ध रहेको उल्लेख गर्नु हुँदै मद्यपान गर्ने बानीमा सुधार देखिए पनि क्याल्सियम कमी र फलफूल अभाव अझै चुनौती रहेको बताउनु भयो ।

कर्मफ्लाइट्सका राष्ट्रिय निर्देशक प्रेमबहादुर कुँवरले विद्यालय, खानेपानी, विद्युत् तथा स्वास्थ्य पूर्वाधार मार्फत अर्नाकोट र समग्र निसीखोला गाउँपालिकामा निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै शिविरलाई सामुदायिक आत्मबल बढाउने अवसरका रूपमा लिएको बताउनु भयो ।
स्वास्थ्य शिविरबाट २ सय ८० जना सेवाग्राही (२ सय जना महिला र ८० जना पुरुष) ले स्वास्थ्य परीक्षण गरी लाभ लिएको र त्यसमध्ये १ सय ९० जनाले मधुमेहको जाँच समेत गरेको र सहभागीमध्ये अधिकांश ज्येष्ठ नागरिक र बालबालिका रहेको निर्देशक कुँवरले मानव आवाजलाई जानकारी दिनु भयो ।
शिविरको व्यवस्थापनमा अर्नाकोट माध्यमिक विद्यालयका शिक्षक र विद्यार्थीहरूले सक्रिय सहभागी रहेको थियोे ।