मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

गोलन्जोर गाउँपालिकाको आधारभूत अस्पतालबाट चौबीसै घण्टा सेवा सुरु

रूद्रबहादुर खड्का, सिन्धुली

सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ ग्वालटारस्थित गोलन्जोर आधारभूत अस्पतालले २०८२ साल मङ्सिर १ गतेदेखि चौबीसै घण्टा सेवा सञ्चालनमा ल्याएको छ ।

पाँच शैयाको आकस्मिक कक्षसहित १५ शैयाको क्षमता रहेको यो अस्पतालले फार्मेसी, एक्स–रे, भिडियो एक्स–रे तथा प्रयोगशाला सेवा नियमित रूपमा प्रदान गरिरहेको जनाएको छ ।

गोलन्जोर गाउँपालिकाका अध्यक्ष शङ्करराज बरालका अनुसार अब आधारभूत स्वास्थ्य उपचारका लागि सिन्धुलीमाढी, धुलिखेल, काठमाडौँ वा निजी अस्पताल धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।

उहाँका अनुसार यस अस्पतालले गोलन्जोरसँगै छिमेकी फिक्कल, कमलामाई नगरपालिका–३, जलकन्या, सुनकोशी तथा रामेछाप, ओखलढुङ्गा र खोटाङका सिमावर्ती बासिन्दालाई समेत सेवा दिने लक्ष्य राखेको छ ।

सङ्घीय सरकारको एक स्थानीय तह, एक आधारभूत अस्पताल’ नीतिअनुसार गत असोज ५ गतेदेखि अस्पताल सञ्चालनमा आएको हो ।

यस्तै, गोलन्जोर गाउँपालिकाका उपाध्यक्ष ज्यालाप्रसाद न्यौपाने (पुकार) ले गरिब वर्गका नागरिकका लागि यो अस्पताल अत्यावश्यक रहेको बताउँदै, विगतमा स्वास्थ्यसेवा पुग्न नसक्ने अवस्थालाई अब यस अस्पतालले अन्त्य गर्ने विश्वास व्यक्त गर्नु भयो ।

उहाँका अनुसार जनताले मागअनुसार सेवा पाउने वातावरण बनाउन र सेवा प्रवाहलाई अझ चुस्तदुरुस्त बनाउनेतर्फ गाउँपालिका गम्भीर रूपमा लागिरहेको छ ।

Author

Related News