सुबोधराज प्याकुरेल
२०८२ भदौ २३, नेपालको इतिहासमा अर्को अँध्यारो दिन बनेको छ । सोह्र श्राद्ध सुरु भएको दिन सरकारको गोलीले १९ जना किशोर-किशोरीको ज्यान लियो । भ्रष्टाचारविरुद्ध, सुशासन र सामाजिक न्यायका लागि सडकमा उत्रिएका विद्यार्थी र युवालाई हत्यारामार्फत मौन गराउने सरकारी अपराध अक्षम्य छ । यो केवल घटनामात्र होइन, यो सम्पूर्ण पिढीको विश्वास, आशा र भविष्य माथिको क्रूरतम आक्रमण हो ।
अन्तर्राष्ट्रिय दृष्टान्त र हाम्रो विडम्बना
इण्डोनेशियाको संसद भवनमा आन्दोलनकारीले आगो लगाउँदा त्यहाँको राष्ट्रपति भने, “हामी नयाँ भवन बनाउन सक्छौँ, तर नागरिकलाई पुनः निर्माण गर्न सक्दैनौँ ।” तर नेपालमा प्रधानमन्त्री ओली उल्टो तर्क गर्छन्-“भवन जोगाउन गोली चलाउनुपर्यो ।” भवनभन्दा नागरिकको जीवन सस्तो ठहर गर्ने यस्तो शासन नेतृत्वमा मूर्खताको चरम अभिव्यक्ति हो ।
घुसपैठको बहाना र वास्तविक प्रश्न
सरकारका निकटवर्तीहरूले आन्दोलनलाई ‘घुसपैठ’ को परिणाम भन्छन् । तर प्रश्न यति मात्र होइनः
- किन हुन्छ घुसपैठ ?
- यस्तो संरचना कसले बनायो, जसले घुसपैठ सहज हुन्छ ?
- जब आन्दोलनकारी आफैँले घुसपैठबारे सतर्कता सार्वजनिक गरेका थिए, सरकारले त्यो जानकारीलाई किन बेवास्ता गर्यो ?
उत्तर छ-लम्पट सरकार आफ्ना गलत नियत र अपराधलाई ढाकछोप गर्न व्यस्त थियो ।
भीड नियन्त्रणमा सरकारको असफलता
सुरक्षा निकाय वर्षौं देखि आग्रह गर्दै आएका छन्-कम घातक तर प्रभावकारी भीड नियन्त्रण प्रविधि अपरिहार्य छ । तर सरकारलाई चासो छैन । उनीहरू आफ्नो समय अपराधी आफन्तलाई जोगाउन, घोटाला ढाकछोप गर्न र सत्ता कब्जामा केन्द्रित छन् ।
दलका नेताहरूको आत्ममुग्धता
काँग्रंस, एमाले जस्ता पुराना दलका इमानदार कार्यकर्तासमेत आज चिन्तित छन्-“भोली कुन मुखले पार्टीको पक्षमा वकालत गर्ने ?”
तर, एमाले नेतृत्व भने ‘मिसन ८४’ का नाममा केवल एकल नेतृत्वलाई निरङ्कुश शक्तिमा पुर्याउने योजनामा मस्त छ ।
राष्ट्रको मर्यादामा धक्का
१९ जना युवाको रगतले राष्ट्रको शीर झुकाएको छ । करिब ४० प्रतिशत जनसंख्या प्रतिनिधित्व गर्ने युवा समुदाय आक्रोशमा छ । उनीहरू हाम्रो पुस्ताको जस्तै ‘Loyal Generation’ (आज्ञाकारी पुस्ता) होइनन् । उनीहरूले दम्भ, अहङ्कार र निरङ्कुशता स्वीकार्दैनन् ।
अबको बाटो
हाम्रो पुस्ताले लोकतान्त्रिक आन्दोलनमा हण्डर, ठक्कर सह्यो तर एउटा गल्ती गर्यो-नेतालाई निरन्तर निगरानीमा राख्न सकेन । आज त्यही गल्ती दोहोर्याउन नहुने बेला छ ।
- अहङ्कारी नेतृत्वलाई पदमा बसाल्ने परम्परा तत्काल अन्त्य गर्नुपर्छ ।
- विचार र सम्वादलाई खुला र सहृदयी ढङ्गले अघि बढाउनुपर्छ ।
- जनआन्दोलनलाई दलको कब्जाबाट मुक्त गर्नुपर्छ ।
- निरङ्कुशताविरुद्ध युवा पुस्तालाई अग्रपङ्क्तिमा उभ्याउनुपर्छ ।
शहीदहरुप्रति श्रद्धाञ्जली
यो लेख हिजोको आन्दोलनमा शहादत प्राप्त युवाहरूलाई समर्पित छ । उनीहरूको बलिदान केवल सम्झनाका लागि होइन-शोकलाई शक्तिमा बदल्न प्रेरणाका लागि हो ।
हार्दिक नमन, तन्नेरी सपनाका शहीदहरू । हार्दिक श्रद्धाञ्जली सहितको ऐक्यबद्धता ।