ललितपुर । तत्कालीन माओवादी द्वन्द्वकालमा ओखलढुङ्गाको ज्ञानप्रकाश मावि घोराखोरीका शिक्षक गुरुप्रसाद लुइँटेलको अपहरणपछि हत्या गरिएको घटनामा संलग्नमाथि कारवाहीको माग गर्दै गुरुका छोरा फणसन्द्र लुइँटेलले सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी गरेको नौ वर्ष बित्दापनि यसबारे थप काम केही पनि भएको छैन ।
फणिन्द्र लुइँटेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायत नेताहरूविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा २०७३ असार १ गते उजुरी दर्ता गराउनु भएको थियो ।
फणिन्द्र लुइँटेलको फेसबुक पेजमा राखिएको उजुरीको निस्सा

फणिन्द्रले तत्कालीन माओवादी पार्टीका उच्चस्तरीय नेतृत्वप्रति जिम्मेवारी देखाउँदै अध्यक्ष प्रचण्ड, पूर्वी कमाण्ड इञ्चार्ज रामबहादुर थापा ‘बादल’, माओवादी केन्द्रका नेता पेशल खतिवडा, पूर्व सांसद केशव राई तथा तत्कालीन जनसरकार प्रमुख र जिल्ला इञ्चार्ज रामचन्द्र शर्मा ‘विज्ञान’विरुद्ध उजुरी दर्ता गराउनु भएको थियो ।
यिमध्ये रामबहादुर थापा अहिले नेकपा एमालेको केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ । शिक्षक गुरुप्रसाद लुइँटेल तत्कालीन एमाले निकट शिक्षक सङ्गठन, ओखलढुङ्गाका अध्यक्ष हुनुहुन्थ्यो ।
उहाँलाई २०६० भदौ २२ गते विद्यालयबाट घर फर्किने क्रममा घोराखोरीबाट अपहरण गरिएको थियो। अपहरणपछि २०६० असोज ६ उहाँलाई रामपुरमा लगेर एक बरको रुखमा झुन्ड्याएर हत्या गरिएको थियो।
पीडित परिवार लामो समयदेखि न्यायको लागि धाइरहेको भए पनि, राज्य संयन्त्र र आयोगले कुनै काम अघि नबढाउँदा न्यायप्रणालीप्रति नै गम्भीर प्रश्न खडा भएको छ ।
मृतकका छोरा फणिन्द्रले जनचासोसँग कुरा गर्दै कानुनी राज्यमा एक न एक दिन आफूहरूले न्याय पाएरै छाड्ने आशासहित प्रतीक्षामा रहेको बताउनु भयो ।
मानव अधिकार संस्था इन्सेकले लुइँटेलबारे प्रकाशन गरेको सामग्री