पोखरा । नेपाल हवाई खेलकुद संस्था को आयोजनामा “२१औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप (एक्युरेसी प्रतियोगिता)–२०२६” पोखरामा २०८२ चैत ५ गतेदेखि सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले राष्ट्रिय झण्डा तथा सहभागी देशका खेलाडीहरूलाई ग्लाइडर हस्तान्तरण गर्दै गर्नुभएको हो ।
उद्घाटन समारोहमा बोल्दै प्रमुख आचार्यले पर्यटनको प्रमुख केन्द्रका रूपमा रहेको पोखरामा प्याराग्लाइडिङलाई मेरुदण्डकै रूपमा विकास गरिएको उल्लेख गर्नु भयो ।
उहाँले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि प्रभावित बनेको उडानलाई पुनः नियमित गर्न विभिन्न तहमा समाधानमूखी छलफल भइरहेको जानकारी दिनु भयो ।
साथै, पर्यटकको प्रमुख रोजाइमा पर्ने यस साहसिक खेललाई सुरक्षित, व्यवस्थित र गुणस्तरीय सेवा सहित सञ्चालन गर्न व्यवसायीहरूलाई आग्रह गर्नु भयो ।
कार्यक्रममा लुना लुइँटेल तथा मणिराज लामिछाने ले शुभकामना मन्तव्य राख्नुभएको थियो । प्रतियोगितामा नेपालसहित भारत, चीन, इटली र फ्रान्सका गरी १० महिला सहित ६२ जना पाइलटको सहभागिता रहेको छ । प्रतियोगिता एक्युरेसी विधामा सञ्चालन भइरहेको छ ।
प्रतियोगिताअन्तर्गत सराङकोट बाट उडान (टेकअफ) गरी खपौंदीमा अवतरण (ल्याण्डिङ) गरिएको छ ।
प्रतियोगिताका विजेताहरूलाई आकर्षक नगद पुरस्कार प्रदान गरिनेछ । पुरुषतर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु. १ लाख ५० हजार, १ लाख र ५० हजार प्राप्त गर्नेछन् ।

महिलातर्फ क्रमशः रु. ७५ हजार, ५० हजार र २५ हजार तथा समूहगततर्फ पनि सोही दरका पुरस्कार, मेडल र प्रमाणपत्र प्रदान गरिने महासचिव बलराम आचार्य ले जानकारी दिनु भयो ।
कोभिड–१९ का कारण विगतमा निरन्तरता पाउन नसकेको प्रतियोगिता यस वर्ष पुनः सुरु गरिएको हो ।
वरिष्ठ उपाध्यक्ष खेमराज आचार्य का अनुसार साहसिक पर्यटनको केन्द्रका रूपमा परिचित पोखरामा यस्ता प्रतियोगिताले पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
प्रतियोगितामा नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल पर्यटन बोर्ड (गण्डकी प्रदेश कार्यालय), पोखरा महानगरपालिका तथा प्रदेश खेलकुद परिषद्लगायतको सहयोग रहेको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष अनिल केसी ले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन महासचिव बलराम आचार्यले गर्नुभएको थियो ।
प्रारम्भमा सात देशका करिब ९० जना पाइलट दर्ता भए पनि अन्ततः पाँच देशका ६२ जना खेलाडीले मात्र सहभागिता जनाएका छन्, खेल संयोजक सुनिलबहादुर भट्टराईले जानकारी दिनु भयो ।
प्याराग्लाइडिङ उडानका लागि सामान्यतया करिब रु. ८ हजार ५ सय शुल्क लाग्ने गर्दछ, जसमा फोटो, भिडियो तथा यातायात सुविधा समावेश हुने पर्यटन व्यवसायी प्रेमबहादुर कुवँरले जानकारी दिनु भयो ।