मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

पोखरामा २१औँ लेखनाथ महोत्सव पुस ३ गतेदेखि

पोखरा । “महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र समृद्धि” भन्ने नारासहित पोखरा महानगरपालिका-२७ स्थित तालचोकमा आयोजना हुने २१औँ लेखनाथ महोत्सव पुस ३ देखि १४ गतेसम्म सञ्चालन हुने भएको छ ।

लेखनाथ उद्योग वाणिज्य सङ्घद्वारा आयोजित महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी पुस १ गते आयोजित पत्रकार सम्मेलनमा दिइयो ।

लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा महोत्सव मूल संयोजक जानुका पराजुली अधिकारीले जेनजी आन्दोलनपछि खस्किएको व्यवसायीहरूको मनोबल उकास्ने, साथै सर्वसाधारणलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादन सहज र सुलभ मूल्यमा उपलब्ध गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको बताउनु भयो ।

महोत्सव अवधिभर लेखनाथ क्षेत्रका उद्योगी, पर्यटन व्यवसायी र कृषकलाई लक्षित गरी तीन महत्वपूर्ण विषयमा छलफल गरिने अध्यक्ष अधिकारीले जानकारी दिनु भयो ।

“उद्योगहरूको वर्तमान अवस्था चुनौतीपूर्ण छ । बैङ्कहरूमा तरलता हुँदाहुँदै पनि व्यवसायीहरू लगानी विस्तारमा हिच्किचाएका छन् ।

त्यस्तै, लेखनाथ क्षेत्रमा पर्यटन विकासका प्रशस्त सम्भावना भए पनि आवश्यक पूर्वाधार र नीतिको अभावले अपेक्षित गति लिन सकेको छैन ।”-उहाँले भन्नुभयो-“महोत्सवमार्फत सरोकारवालासँग सम्वाद गरी उपयुक्त निकास खोज्नेछौँ ।”

लेखनाथ महोत्सवको प्रारम्भिक चरण सुन्तला महोत्सवबाट भएको स्मरण गर्दै अध्यक्ष अधिकारीले अहिले सुन्तला, कफी, माछा लगायतका कृषि उत्पादनमार्फत पनि लेखनाथ क्षेत्रको विकास सम्भव रहेको उल्लेख गर्नु भयो ।

यससम्बन्धी गम्भीर बहस र सवादमार्फत सरोकारवालालाई उपयुक्त मार्ग अवलम्बन गराउन पहल गरिने उहाँको भनाइ छ ।

महोत्सवलाई उत्पादक र उपभोक्ताबिचको साझा थलोका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ ।

व्यापारीले आम्दानी गर्ने, उत्पादकले आफ्ना उत्पादनको प्रचारप्रसार गर्ने र सर्वसाधारणले एकै थलोमा विभिन्न वस्तु तथा सेवा पाउने वातावरण सिर्जना गरिनेछ ।

साथै व्यवसायीहरूको मनोबल उकास्न चेतनामूलक तथा जानकारीमूलक कार्यक्रम सञ्चालन गरिने र सिक्ने–सिकाउने अवसर उपलब्ध हुने भएकाले महोत्सवलाई ‘अनौपचारिक विश्वविद्यालय’का रूपमा लिइने गरिएको अध्यक्ष अधिकारीले बताउनु भयो ।

महोत्सवका विशेष आकर्षणमा जलपरी प्रदर्शन, कृषि–पर्यटन–उद्योग विषयक टक शो, टिकटक तथा आर्ट एन्ड क्रिएटर प्रतियोगिता, शान्तिका दूत गौतम बुद्धको प्रतिमा, घरेलु तथा ग्रामीण प्रविधि प्रदर्शनी, महिला विशेष रत्यौली गीत, विद्यालयस्तरीय नृत्य, शैक्षिक तथा साहित्यिक कार्यक्रम, विभिन्न जातजातिको मौलिक संस्कृति झल्कने झाँकी र्‍याली, सांस्कृतिक प्रस्तुति, ख्यातिप्राप्त हास्य कलाकारहरूको दैनिक प्रस्तुति, राष्ट्रिय लोकदोहोरी तथा युवा लक्षित पप र सुगम संगीत कन्सर्ट समावेश छन् ।

त्यसैगरी औद्योगिक तथा व्यापार, हस्तकला, कृषि तथा दुग्धजन्य उत्पादन, सुन्तला, माछा, मौरी, कफी, बीउविजन, तरकारी, जैविक विविधता, फुड फेस्टिभल र अटोमोबाइल प्रदर्शनी पनि रहनेछ ।

पर्यटन प्रवर्धन सामग्री तथा वित्तीय सेवासम्बन्धी जानकारीसमेत महोत्सवमा प्राप्त गर्न सकिनेछ ।

कुल ३ सय ३५ ओटा उद्योग, व्यापार, सेवामूलक तथा सूचनामूलक स्टल रहने आयोजकले जनाएको छ ।

प्रचारप्रसार संयोजक ध्रुवबाबु भट्टराईका अनुसार महोत्सव अवलोकन गर्न करिब २ लाख ५० हजार दर्शक आउने अपेक्षा गरिएको छ ।

महोत्सवबाट करिब ९ करोड रुपियाँ बराबरको आर्थिक कारोबार हुने, करिब ९५ लाख रुपियाँ आम्दानी र ८५ लाख रुपियाँ खर्च भई १० लाख रुपियाँ बचत हुने अनुमान गरिएको छ ।

महोत्सवका मुख्य प्रायोजक गृहलक्ष्मी ग्यास कम्पनीका सञ्चालक धर्मराज बर्तौला, लेखनाथ उद्योग वाणिज्य सङ्घका महासचिव भरतराज ओझा र वरिष्ठ उपाध्यक्ष गोपिचन्द्र बास्तोलाले पनि तयारीबारे जानकारी गराउनु भयो ।

लेखनाथ उद्योग वाणिज्य सङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने महोत्सवमा उद्योग तथा पर्यटन मन्त्रालय, गण्डकी प्रदेश र नेपाल उद्योग वाणिज्य महासङ्घ गण्डकी प्रदेश सह–आयोजक रहेका छन् ।

पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड प्रवर्धकका रूपमा रहेका छन् भने विभिन्न सघसंस्थाको सहयोग रहेको छ ।

प्रवेश शुल्क विद्यार्थीका लागि ५० रुपियाँ, सर्वसाधारणका लागि १ सय रुपियाँ र कन्सर्ट हेर्न जानेका लागि २ सय रुपियाँ तोकिएको छ ।

ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई सामाजिक सुरक्षा भत्ता परिचयपत्रका आधारमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

Author

Related News