पोखरा । “सबैतिर स्वच्छ खानपान : खाद्यजन्य समस्याको समाधान” भन्ने नारासहित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/०८३ मा खाद्य स्वच्छताका आधारमा होटल रेस्टुरेन्ट स्तरीकरण गर्ने सम्बन्धि निर्देशिका २०७४ बमोजिम २१ ओटा होटल तथा रेष्टुरेन्टलाई स्तरीकरण नवीकरण, लोगो तथा प्रमाणपत्र प्रदान गरेको छ ।
पोखरामा २०८३ जेठ २ गते आयोजित कार्यक्रममा कार्यालयले अनुगमन तथा मूल्याङ्कनका आधारमा होटल तथा रेष्टुरेन्टहरूको सेवा, खाद्य स्वच्छता, गुणस्तर व्यवस्थापन र उपभोक्ता सुरक्षाका विभिन्न मापदण्डको मूल्याङ्कन गरी स्तरीकरण प्रदान गरेको जनाएको छ ।
कार्यालयका अनुसार यस प्रकारको स्तरीकरणले आतिथ्य क्षेत्रको सेवा गुणस्तर अभिवृद्धि गर्नुका साथै ग्राहकलाई होटल तथा रेष्टुरेन्टको स्तर पहिचान गर्न सहज बनाउने अपेक्षा गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय उपभोक्ता मञ्च कास्कीका अध्यक्ष राजेन्द्र लिगलले खाद्य स्वच्छता, सरसफाइ, सेवा सुविधा तथा उपभोक्ता हितसँग सम्बन्धित पक्षहरूको मूल्याङ्कनपछि प्रदान गरिएको लोगो र प्रमाणपत्रको गरिमा जोगाउन व्यवसायीहरूलाई आग्रह गर्नुभयो ।

उहाँले उपभोक्तालाई सुरक्षित र गुणस्तरीय सेवा उपलब्ध गराउनु व्यवसायीहरूको मुख्य जिम्मेवारी भएको बताउनुभयो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका प्रमुख तथा वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विजन श्रेष्ठका अनुसार आर्थिक वर्ष २०८२/०८३ मा २१ ओटा होटल तथा रेष्टुरेन्टलाई व्यवसाय स्तरीकरण स्टिकर, लोगो, प्रतिबद्धता पत्र तथा प्रमाणपत्र वितरण गरिएको हो ।
तीमध्ये सात ओटा संस्थालाई ‘अति उत्तम’, आठ ओटालाई ‘उत्तम’ तथा ६ ओटालाई ‘सन्तोषजनक’ श्रेणी प्रदान गरिएको छ ।
‘अति उत्तम’ श्रेणी प्राप्त गर्ने संस्थाहरूमा टेम्पल बेल बुटिक होटल एण्ड स्पा, होटल अन्नपूर्ण भ्यु सराङकोट, फ्लिप नेपाल रिसोर्ट, ड्याडिज चिप्लेढुङ्गा, होटल माउण्ट कैलाश रिसोर्ट, टेम्पल ट्री रिसोर्ट तथा म्याजेस्टिक लेक फ्रन्ट होटल रहेका छन् ।
त्यस्तै ‘उत्तम’ श्रेणी प्राप्त गर्ने संस्थाहरूमा अतिथि रिसोर्ट एण्ड स्पा, होटल ल्याण्डमार्क पोखरा, अतिथि स्विट्स, रुपाकोट रिसोर्ट, मारवाडी सेवा भोजनालय, मेड फाइभ रेष्टुरेन्ट, ३६० स्काई लाउन्ज तथा मुस्ताङ माउन्टेन होम लिमिटेड रहेका छन् ।
‘सन्तोषजनक’ श्रेणीमा वरपिपल रिसोर्ट, होटल देउराली मारवाडी भोजनालय, सेभेन स्टार रेष्टुरेन्ट एण्ड बार, महाराजा द रोयल होटल, वाटर फ्रन्ट रिसोर्ट तथा रोयल मुस्ताङ रिसोर्ट परेका छन् ।
श्रेष्ठका अनुसार स्तरीकरण प्राप्त संस्थाहरूले गुणस्तरीय सेवा उपलब्ध गराउने, सुरक्षित तापक्रममा खाना भण्डारण गर्ने, काँचो र पकाएको खानेकुरा छुट्टाछुट्टै राख्ने, स्वच्छ पानी र कच्चा पदार्थको प्रयोग गर्ने, उपभोग्य मिति नाघेका खाद्य वस्तु प्रयोग नगर्ने, सरसफाइ कायम राख्ने तथा अभिलेख व्यवस्थित राख्ने प्रतिबद्धता जनाएका छन् ।
कार्यालयले होटल तथा रेष्टुरेन्टलाई अभिलेख व्यवस्थापन सुधार गर्न, कर्मचारीहरूको नियमित स्वास्थ्य परीक्षण गराउन, किचनमा रहेका अनावश्यक सामग्री हटाउन, खाद्य पदार्थमा अनिवार्य लेबल प्रयोग गर्न तथा बिग्रिएका उपकरण समयमै मर्मत गर्न सुझाव समेत दिएको छ ।

कार्यक्रममा होटल सङ्घ पोखरा नेपालका उपाध्यक्ष नेत्रप्रसाद पौडेलले खाद्य पदार्थ जस्तो संवेदनशील क्षेत्रमा व्यवसाय सञ्चालन गर्दा नाफासँगै उपभोक्ताको स्वास्थ्य र हितलाई पनि प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
होटल स्तरीकरणका लागि पानीको भण्डारण, खाद्य पदार्थको भण्डारण अवस्था, उपकरणको सरसफाइ, तेलको प्रयोग, व्यक्तिगत सरसफाइ, कर्मचारी तालिम, फ्रिज तथा रेफ्रिजेरेटरको तापक्रम व्यवस्थापन लगायतका विषयमा खाद्य अनुसन्धान अधिकृत, होटल सङ्घ पोखरा, उपभोक्ता मञ्च तथा सञ्चारकर्मी सम्मिलित टोलीले स्थलगत अनुगमन गर्ने गरेको कार्यालयले जनाएको छ ।
वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विजन श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा खाद्य अनुसन्धान अधिकृत रञ्जना चौधरीले स्तरीकरणपश्चात् लोगो तथा प्रमाणपत्र वितरण गरिएको जानकारी दिनुभयो ।
कार्यालयद्वारा जारी मापदण्डअनुसार १०० अङ्कको मूल्याङ्कन प्रणालीमार्फत विभिन्न ५० क्षेत्रको मूल्याङ्कन गरी स्तरीकरण प्रदान गरिएको हो । कार्यक्रमको सञ्चालन नायब सुब्बा सुशीला पोखरेलले गरेकी थियो।