पोखरा । पोखरा महानगरपालिका-८ मा रहेको सराङ्गकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभामा संस्थाका सल्लाहकार भागवत भाष्कर कमलनयन गौतमले विभिन्न परिस्थितिका बिच पनि संस्था जिम्मेवारीपूर्वक निरन्तर सञ्चालनमा रहनु महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो ।
उहाँले समुदायको विकासमा सहभागिता गर्ने उद्देश्यले स्थापना भएको संस्थाले रेडियो सराङ्गकोट, सामाजिक सेवा तथा विविध गतिविधिसँगै सदस्यहरूको आर्थिक सहभागितामा वित्तीय कारोबार गर्दै आएको बताउनुभयो ।
संस्थाका पूर्वअध्यक्ष तथा सल्लाहकार कृष्णबहादुर थापाले संस्थाको स्थापनाकालदेखि वर्तमान अवस्थासम्मको सक्रियता र भूमिकाबारे धारणा राख्नुभएको थियो ।
सहकारीका व्यवस्थापक सुरेन्द्र थापाका अनुसार संस्थामा ६ सयभन्दा बढी सदस्य रहेका छन् । चालु वर्षमा संस्थाको कुल कारोबार १ अर्ब ६८ करोड रुपियाँ, बचत फिर्ता १ अर्ब ६७ करोड रुपियाँ, कर्जा लगानी ४८ करोड रुपियाँ र शेयर पुँजी ४ करोड ३६ लाख रुपियाँ रहेको छ ।
कार्यक्रममा पूर्वअध्यक्ष प्रेमबहादुर जिसी, सुशीलराज पराजुली, सल्लाहकार शोभियतबहादुर अधिकारी र इन्द्रकमल मानन्धरले शुभकामना मन्तव्य व्यक्त गर्दै संस्थाको उद्देश्य प्राप्तिका लागि सम्पूर्ण सदस्य सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।
साधारणसभामा सचिव जयराम पौडेल, कोषाध्यक्ष शिवबहादुर थापा, लेखा समिति संयोजक कुलप्रसाद सुवेदी, कर्जा असुली संयोजक तथा उपाध्यक्ष राममणि पौडेल र व्यवस्थापक सुरेन्द्र थापाले प्रस्तुत गर्नुभएको विभिन्न प्रतिवेदन छलफलसहित पारित गरिएको थियो ।
साधारणसभाको अवसरमा ज्येष्ठ सदस्य तीर्थमान प्रधानाङ्ग, असल कारोबारी सदस्य बालकृष्ण बराल र शर्मिला जिसी, वर्ष उत्कृष्ट कर्मचारी पवन श्रेष्ठ तथा उत्कृष्ट विद्यार्थी अमृत पोखरेललगायतलाई संस्थागत सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष शिवबहादुर बानियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव जयराम पौडेलले गर्नुभएको थियो ।