मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

सरकारी दमनमा १९ जनाको ज्यान गयो, ४ सय २२ जना घाइते

ललितपुर । समाजिक सञ्जाल बन्द र शासनप्रति देखिएको असन्तोषकाबिच जेनजीले देशभर थालेको आन्दोलन २०८२ भदौ २३ गते रक्तरञ्जित बन्यो ।

विभिन्न शहरमा भएको सरकारी दमनपछि १९ जनाको मृत्यु भएको छ भने ४ सय २२ जना घाइते भएका छन् ।

सार्वजनिक गरेको विवरणअनुसार काठमाडौँका सिभिल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, एभरेष्ट, केएमसी, त्रिवि शिक्षण अस्पताल र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मात्रै १९ जनाको मृत्यु दर्ता भएको छ ।

काठमाडौँमा १७ जना र सुनसरीको इटहरीमा प्रहरीले गोली चलाउँदा दुईजनाले ज्यान गुमाएका छन् ।

नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि घेरा तोड्दै प्रदर्शन प्रवेश गर्दा आन्दोलनकारी र प्रहरीले भिडन्त गरेका थिए ।

प्रहरीले अन्धाधुन्ध गोली चलाउँदा सयौँ घाइते भएका थिए । तत्कालै साथीहरूले घाइतेलाई अस्पताल पुर्‍याए पनि कतिपयको बाटैमा र कतिपयको उपचारका क्रममा निधन भएको छ ।

सडकमा मात्र नभई, अस्पताल परिसरमै प्रहरीले आक्रमण गरेको आरोप पनि प्रदर्शनकारीहरूले लगाएका छन् ।

निजामती अस्पतालभित्र छिरेर आन्दोलनकारीमाथि दमन गरिएको र त्यस क्रममा डाक्टरसम्म अश्रुग्यासको असरमा परेको विवरण आएका छन् ।

सरकारले आन्दोलन नियन्त्रणका नाममा देखाएको बल प्रयोगले आलोचना खेपिरहेको छ भने प्रदर्शनकारीहरूको आक्रोश झन् व्यापक बन्दै गएको छ ।

लोकतान्त्रिक मूल्य र मानवअधिकार उल्लङ्घनको गम्भीर घटनाका रूपमा इतिहासमा समेटिने यो घटनाको जिम्मेवार सरकार रहेको अधिकारकर्मीहरूले ठहर गरेका छन् ।

अधिकारकर्मीहरूले प्रहरी बलप्रयोगका स्थापित मान्यता उल्लङ्घन गर्दै नागरिकको जीवनमा ठूलो क्षति पुर्‍याइएको आरोप लगाउँदै घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरी जिम्मेवारलाई कारबाही गर्न माग गरेका छन् ।

(फोटोः कान्तिपुरबाट)

Author

Related News