पोखरा । ‘रोजगार र आत्मनिर्भरतामा हाम्रो प्रतिबद्धता, बचत गरेर धनी हुने हाम्रो दृढता’ भन्ने नारासहित पोखरा महानगरपालिका-५, जिरोकिलोमिटरस्थित श्री गोरक्ष निखिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १८औँ स्थापना दिवस मनाएको छ ।
सहकारी ऐन, २०४८ बमोजिम स्थापित संस्थाले २०८३ भदौ २४ गते आफ्नै कार्यालयमा स्थापना दिवस मनाएको हो ।
स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा संस्थाका अध्यक्ष तारानाथ शर्माले सहकारीले आफ्नो उद्देश्यअनुरूप विभिन्न गतिविधि सञ्चालन गर्दै आएको बताउनुभयो ।
उहाँले शेयर सदस्यहरू सहकारीका अभिन्न अङ्ग तथा अभिभावक भएकाले संस्थाप्रतिको आफ्नो जिम्मेवारी इमानदारीपूर्वक पूरा गरेकोमा सदस्यहरूलाई धन्यवाद व्यक्त गर्नुभयो ।
रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा विभिन्न जिल्लामा भएका प्राकृतिक विपद्बाट ठूलो जनधनको क्षति भएकाप्रति दुःख व्यक्त गर्दै यस वर्ष औपचारिक कार्यक्रम नगरिएको सहकारीका सल्लाहकार कृष्णप्रसाद पाण्डेले बताउनुभयो ।
सल्लाहकार पाण्डेले सहकारीमा आबद्ध सदस्यहरूले संस्थाको अवस्था, आफ्नो बचत तथा कर्जाको समयसमयमा समीक्षा र अनुगमन गर्नुपर्नेमा जोड दिनुभयो ।
सहकारीप्रति सदस्यहरूको चासो र निगरानीले संस्थालाई थप व्यवस्थित र सुदृढ बनाउन सहयोग पुग्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा कोषाध्यक्ष रामराज सुवेदीले सहकारीका सात सिद्धान्त वाचन गर्नुभएको थियो । संस्थाका व्यवस्थापक शम्भुराज पौडेलले सहकारी संस्था जोगाउने मुख्य जिम्मेवारी शेयर सदस्यहरूकै भएको बताउँदै सञ्चालक समिति र कर्मचारीलाई समयसमयमा सचेत तथा सजग गराइरहनुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष तारानाथ शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष जुमबहादुर गुरुङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सचिव रिता लम्सालले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।