पोखरा । २०८३ असोज ९ गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी गण्डकी प्रदेशमा १८ जनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् । विपद्मा तीन जना घाइते भएका छन् ।
गण्डकी प्रदेश प्रहरी कार्यालयले सङ्कलन गरेको विवरणअनुसार बाढीपहिरोबाट सबैभन्दा बढी मानवीय क्षति बागलुङमा भएको छ । बागलुङमा १०, म्याग्दीमा ६ र मनाङमा दुई जनाको मृत्यु भएको हो ।
बाढीपहिरोका कारण प्रदेशका ११ जिल्लामा १ सय ७९ घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने २६ घरमा आंशिक क्षति पुगेको छ । थप २ सय ७० घर जोखिममा रहेका छन् ।
घरमा भएको क्षतिमध्ये पर्वतमा सबैभन्दा बढी १ सय ६ घर पूर्णरूपमा क्षतिग्रस्त भएका छन् । कालीगण्डकी नदीको बहाव बढेपछि जलजला गाउँपालिका-८, फर्सेमा मात्रै झण्डै सय घरमा क्षति पुगेको छ ।
बागलुङमा २३, नवलपुरमा १५, स्याङ्जामा १३, तनहुँमा १०, म्याग्दीमा ६, मनाङमा चार तथा कास्की र लमजुङमा एक-एक घरमा पूर्ण क्षति पुगेको छ ।
विपद्को उच्च जोखिमका कारण प्रदेशभर ४ सय १९ घरका १ हजार ४ सय ५१ जना विस्थापित भएका छन् । पूर्वी नवलपरासीमा सबैभन्दा धेरै १ सय ६२ घरका ६ सय १३ जना र पर्वतमा १ सय ६२ घरका ५ सय ४० जना विस्थापित भएका छन् ।
स्याङ्जामा २३ घरका ७२, गोरखामा १३ घरका ४३, तनहुँमा १८ घरका ५४, म्याग्दीमा चार घरका ११ र कास्कीमा तीन घरका १० जना विस्थापित भएका छन् ।
बाढीपहिरोबाट प्रदेशका विभिन्न जिल्लामा ६ ओटा पुल पूर्णरूपमा क्षतिग्रस्त भएका छन् भने दुईवटा पुलमा आंशिक क्षति पुगेको छ । तनहुँ, गोरखा, स्याङ्जा, मनाङ, पर्वत र म्याग्दीमा एक-एक पुलमा क्षति पुगेको छ ।
कास्की, गोरखा र स्याङ्जामा एक-एक सरकारी कार्यालयमा पूर्ण क्षति भएको छ भने प्रदेशभर नौ सरकारी कार्यालय जोखिममा छन् ।
कालीगण्डकी र मर्स्याङ्दी नदीको बहाव बढ्दा विभिन्न स्थानमा कटान र डुबान भएको छ । कालीगण्डकी नदीमा आएको बाढीले पर्वत र बागलुङ जोड्ने मालढुङ्गाको पुल तथा स्याङ्जाको कालीगण्डकी गाउँपालिका-७ मिर्मी र गुल्मीको हर्मिचौर जोड्ने पक्की पुल बगाएको छ । पुल क्षतिग्रस्त भएपछि ती क्षेत्रको आवतजावत प्रभावित भएको छ ।
बाढीपहिरोका कारण पोखरा-बागलुङ भूपी शेरचन राजमार्ग, पोखरा-सुनौली सिद्धार्थ राजमार्ग र पोखरा-नौबिसे पृथ्वी राजमार्गका विभिन्न सडकखण्डमा पहिरो खस्दा यातायात प्रभावित भएको छ । ठाउँठाउँमा विद्युत्का टावरमा समेत क्षति पुगेपछि टेलिफोन तथा सञ्चार सम्पर्कमा समस्या आएको छ ।
बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीका कारण २०८३ असोज ८ गतेदेखि देशका विभिन्न भागमा भारीदेखि अतिभारी वर्षा भएको थियो ।
पछिल्लो चार दिनमा बाढीपहिरोको जोखिममा रहेका जिल्लाबाट करिब दुई हजार नागरिकलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ । विस्थापित तथा उद्धार गरिएका नागरिकका लागि सम्बन्धित जिल्ला प्रशासनको समन्वयमा स्थानीय तहबाट आवश्यक बन्दोबस्ती तथा राहतको व्यवस्था गरिएको छ ।
यस अवधिमा देशभरका १ सय ८६ वर्षा मापन केन्द्रमा १ सय मिलिमिटरभन्दा बढी वर्षा भएको छ । सबैभन्दा बढी नवलपरासी पूर्वको डेढगाउँमा ५४४.२ मिलिमिटर वर्षा मापन भएको छ । कास्कीको पञ्चासेमा ५००.२ र तनहुँको अत्रौलीटारमा ४७२ मिलिमिटर वर्षा मापन भएको छ ।