पोखरा । पोखराबाट काठमाडौँ तर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटनामा परेर कम्तीमा १७ जनाको ज्यान गएको छ ।
पोखरा बाट छुटेको उक्त बस २०८२ फागुन ११ गते करिब १:१५ बजे त्रिशूली नदी मा खसेको प्रहरीले जनाएको छ ।
धादिङ जिल्ला ट्राफिक प्रहरी कार्यालय का प्रमुख शिशिर थापा का अनुसार दुर्घटनामा १७ जनाको मृत्यु भएको पुष्टि भएको छ । मृतकमध्ये ४ जना महिला र १३ जना पुरुष रहेका छन् ।
दुर्घटना बेनीघाट रोराङ गाउँपालिका–स्थित चरौँदी नजिकैको चाइनाधारामा भएको हो । ग २ ख १४२१ नम्बरको बस अनियन्त्रित भई सडकबाट तल खसेर नदीमा पुगेको प्रारम्भिक अनुमान गरिएको छ ।
राति करिब साढे १ बजेदेखि नै खोज तथा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल का टोलीहरू परिचालित छन् ।
डुङ्गाको सहायताले यात्रुहरूलाई नदीबाट बाहिर निकालेर बगरमा ल्याई एम्बुलेन्समार्फत अस्पताल पठाउने काम भइरहेको छ ।
प्रहरीका अनुसार अहिलेसम्म १७ जनाको शव फेला परेको छ भने अन्य यात्रुको खोजी जारी छ । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ ।