पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले २०८३ भदौ महिनामा अपराध अनुसन्धान, फैसला कार्यान्वयन, लागूऔषध नियन्त्रण तथा सडक सुरक्षालगायतका क्षेत्रमा गरेको प्रगति विवरण सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीले असोज २ गते सार्वजनिक गरेको विवरणअनुसार भदौ महिनामा जिल्लाभित्र जघन्य तथा गम्भीर अपराधका २०, महिला तथा बालबालिकासम्बन्धी ९, आर्थिक अपराधका १७ र अन्य १ सय १८ गरी कुल १ सय ६४ ओटा नयाँ मुद्दा दर्ता भएका छन् ।
कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार ती मुद्दामा संलग्न १ सय १५ जना प्रतिवादीलाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ ।
फैसला कार्यान्वयनतर्फ विगतदेखि फरार रहेका ५६ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४० पुरुष र १६ महिला रहेका छन् ।
उनीहरूबाट ११ वर्ष ३ महिना २७ दिन कैद भुक्तान गराउनुका साथै २२ लाख ८९ हजार १ सय ७५ रुपैयाँ बिगो असुल गरिएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।
लागूऔषध ओसारपसार तथा बिक्रीवितरण नियन्त्रणका क्रममा भदौ महिनामा १० ओटा मुद्दा दर्ता गरी १४ जना पुरुषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरूको साथबाट १५ ग्राम ९२ मिलिग्राम ब्राउनसुगर, ११ हजार ७ सय ६८ चक्की ट्यापेंटाडोल, १ हजार ५ सय एम्पुल डाइजापाम, फेनेरागन र नुर्फिन तथा १ सय ८६ बोतल ओनिरेक्सलगायत लागूऔषध बरामद गरिएको छ ।
भदौ महिनामा कास्कीमा २९ ओटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ भने ३९ जना घाइते भएका छन् ।
सवारी नियम उल्लङ्घन गर्ने ६ हजार ४० ओटा सवारी साधनलाई कारबाही गरी ४८ लाख ४ हजार रुपैयाँ राजस्व संकलन गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तीव्र गति र मादक पदार्थ सेवन गरी सवारी चलाउनु दुर्घटनाका प्रमुख कारणका रूपमा देखिएका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार भदौ महिनामा सामाजिक हिंसासम्बन्धी ५३ ओटा ठाडो उजुरी परेका छन् ।
उजुरीको विवरण विश्लेषण गर्दा १८ देखि ३५ वर्ष उमेर समूहका व्यक्ति बढी पीडित तथा पीडक रहेको पाइएको उहाँले बताउनुभयो ।
यस्तै, घरेलु हिंसासम्बन्धी १८ ओटा निवेदन प्राप्त भएकामा ६ ओटा निवेदनमा मिलापत्र गराइएको प्रहरीले जनाएको छ ।
समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत कास्की प्रहरीले समुदाय तथा विद्यालयस्तरमा साइबर अपराध, लागूऔषध, आत्महत्या रोकथाम र सडक सुरक्षालगायतका विषयमा १ सय ४१ ओटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।
डिएसपी पासवानका अनुसार ती कार्यक्रममा ५ हजार ६ सय ५० भन्दा बढी नागरिकलाई प्रत्यक्ष अभिमुखीकरण गरिएको छ ।
प्रहरी सङ्गठनको आन्तरिक व्यवस्थापनतर्फ उत्कृष्ट कार्य गर्ने १४ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।