मधु पन्थी, पोखरा
गण्डकी प्रदेश खेलकुद परिषदमा नवनियुक्त १५ जना सदस्यले औपचारिक रूपमा पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । २०८२ असार ३१ गते पोखरामा आयोजित एक समारोहबिच उनीहरूले सपथ लिएका हुन् ।
सामाजिक विकास तथा युवा खेलकुदमन्त्री विन्दुकुमार थापाको रोहबरमा परिषद्का सदस्य सचिव श्रीधर शर्माले नवनियुक्त सदस्यहरूलाई सपथ गराउनु भएको हो । शपथ ग्रहणसँगै परिषदको पुनर्गठन प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको हो।
शपथपछिको परिचयात्मक कार्यक्रममा मन्त्री थापाले नवनियुक्त सदस्यहरूको ऊर्जा, दृष्टिकोण र समर्पणले गण्डकी प्रदेशको खेलकुद क्षेत्रमा संरचनागत सुधार, पारदर्शी प्रणालीको विकास र खेलाडीमैत्री नीति निर्माणमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नु भयो ।
“खेलकुदले प्रदेशको मात्र होइन, सम्पूर्ण राष्ट्रको पहिचान स्थापित गर्छ,”-मन्त्री थापाले भन्नु भयो-“प्रदेश सरकार खेलकुदको दिगो विकासका लागि आवश्यक संरचना, स्रोत र अवसरको सिर्जनामा प्रतिबद्ध छ।”

प्रदेश खेलकुद विकास ऐन, २०७७ को व्यवस्था अनुसार खेल सङ्घबाट मनोनयनमा पर्ने तीन सदस्य-भीम पराजुली, अनिषा तुलाचन र खिम पुन मगर-सहित अन्य १२ जना विभिन्न खेल विधाबाट प्रतिनिधित्व गर्दै परिषदमा समावेश भएका छन्।
मनोनयन भएका अन्य सदस्यहरूमा प्याराग्लाइडिङका भेनिस थापा (गोरखा), फुटबलका कृष्णबहादुर थापा (कास्की), भलिबलकी केशमाया गुरुङ (तनहुँ), एथलेटिक्सकी इन्द्रा कुमारी मल्ल (कास्की), क्रिकेटका रविन्द्र बहादुर प्रजु (कास्की), मुवाथाईकी सङ्गीता सुवेदी (कास्की), टेबलटेनिसका दिल बहादुर गुरुङ (कास्की), तेक्वान्दोकी कन्चन थापा कोइराला (कास्की), हाप्किडोकी सिता कुमारी गुरुङ (स्याङ्जा), करातेका सागर गुरुङ (गोरखा), करातेका विजय कुमार आले मगर (कास्की) र तेक्वान्दोकी रेखमाया गुरुङ (स्याङ्जा) रहेका छन् ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव नवराज ढकाल, परिषदका उपाध्यक्ष धोज कुमार गुरुङ र सदस्य सचिव श्रीधर शर्माले शुभकामना मन्तव्य राख्दै परिषदको नयाँ संरचनाले प्रदेशको खेलकुद क्षेत्रलाई थप उचाइमा पुर्याउने अपेक्षा व्यक्त गर्नु भएको थियो ।