मानव आवाज

२०८३ असोज ९ गते
00: 00: 00
२०८३ असोज ९ गते

भदौमा कास्कीमा १ लाख ४९ हजार ९९१ ग्यास सिलिन्डर बिक्री

पोखरा । कास्की जिल्लामा २०८३ भदौ महिनामा विभिन्न नौ ओटा ग्यास उद्योगबाट १ लाख ४९ हजार ९ सय ९१ ओटा ग्यास सिलिन्डर बिक्री तथा वितरण भएको छ। नेपाल आयल निगम लिमिटेड, गण्डकी प्रादेशिक कार्यालय पोखराले सार्वजनिक गरेको विवरणअनुसार भदौ १ देखि ३१ गतेसम्म उक्त परिमाणमा ग्यास सिलिन्डर कास्कीमा वितरण भएको हो ।

नेपाल आयल निगम लिमिटेड, गण्डकी प्रादेशिक कार्यालयले जिल्ला प्रशासन कार्यालय कास्कीलाई पठाएको विवरणमा भदौ महिनामा विभिन्न ग्यास उद्योगबाट भएको वितरणको तथ्यांक सार्वजनिक गरेको हो ।

कार्यालयका सूचना अधिकारी गणेशबहादुर मगरद्वारा जारी विवरणअनुसार कास्कीमा नौ ओटा ग्यास उद्योगबाट सिलिन्डर वितरण गरिएको छ ।

विवरणअनुसार गृहलक्ष्मी ग्यासले ५९ हजार ८ सय २३, शक्ति ग्यासले ३८ हजार ५६१, नेपाल ग्यासले ८ हजार ३ सय ५०, राजधानी ग्यासले ५ हजार ९ सय ६६ र बाबा ग्यासले १३ हजार ३ सय १ ओटा सिलिन्डर कास्कीमा वितरण गरेका छन् ।

त्यस्तै, जानकी ग्यासले १५ हजार २ सय २३, भानु ग्यासले ४ हजार १ सय ८८, सिद्धनाथ ग्यासले १ हजार ५२ र श्रीमाया ग्यासले ३ हजार ५ सय २७ ओटा सिलिन्डर वितरण गरेको निगमको विवरणमा उल्लेख छ ।

उद्योगहरूबाट वितरण भएको उक्त तथ्याङ्क जोड्दा कास्कीमा भदौ महिनामा १ लाख ४९ हजार ९ सय ९१ ओटा सिलिन्डर वितरण भएको देखिन्छ ।

यसअघि साउन महिनामा मात्रै पोखराको बजारमा करिब १ लाख ४० हजार फुल ग्यास सिलिन्डर पठाइएको थियो ।

तर, बजारमा ग्यासको आपूर्ति बढाइएको तथ्याङ्क सार्वजनिक भए पनि उपभोक्ताले भने सहज रूपमा ग्यास पाउन नसकेको गुनासो कायमै छ ।

कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी चित्राङ्गत बरालका अनुसार जिल्लाका पाँच स्थानीय तहमा १९ ओटा कम्पनीले ग्यास सिलिन्डर आपूर्ति गर्दै आएका छन् ।

असोज ८ गतेसम्म पनि बजारमा ग्यासको सहज उपलब्धता हुन नसकेको र अभावको समस्या कायमै रहेको उपभोक्ताहरूको गुनासो छ ।

निगमको वितरण तथ्याङ्क र बजारमा देखिएको अवस्थाबिचको अन्तरबारे समेत उपभोक्ताले प्रश्न उठाएका छन् ।

Author

समाचार साझा गर्नुहोस्

सम्बन्धित समाचार