जनकपुरधाम । मधेस प्रदेशमा आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि देखिएको अवरोध हटाउने प्रयासस्वरूप १४ सदस्यीय कार्यदल गठन गरिएको छ।
प्रदेशसभा बैठकमा २०८२ असार २८ गते प्रारम्भिक रूपमा सभामुख रामचन्द्र मण्डलको संयोजकत्वमा गठित ६ सदस्यीय कार्यदलमा मन्त्रीसमेत समावेश गरिएकामा प्रतिपक्षी सांसदहरूले आपत्ति जनाउँदै बैठक अवरुद्ध गरेका थिए।
सहमति पछि पुनः बसेको बैठकमा मधेश प्रदेशसभाका सभामुख मण्डलले संयोजक पदबाट राजीनामा दिनुभएको थियो ।
त्यसपछिको सहमतिअनुसार उपसभामुख बबिता राउत ईशरको संयोजकत्वमा नयाँ १४ सदस्यीय कार्यदल गठन गरिएको हो।
कार्यदलका सदस्यहरूमा मो. समीर, शारदादेवी थापा, चन्दन कुमार सिंह, शम्भु कुमार साह, जङ्गीलाल राय, नागेन्द्र साह, रमिता प्रधान, रामअशिष यादव, कनिष पटेल, जवाहरलाल कुशवाहा, विमला अन्सारी तरन्नम, कञ्चन विच्छा र उर्मिला देवी सिंह रहेका छन्।
नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रमुख सचेतक एवम् कार्यदल सदस्य कनिष पटेलका अनुसार कार्यदलले भोलिसम्म विषयको छानबिन गर्ने र पर्सि सोमबारसम्म प्रतिवेदन प्रदेशसभामा पेस गर्ने लक्ष्य राखिएको छ।
प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेट सार्वजनिक गरेपछि करिब २३ मिनेट मात्र छलफल भएको थियो।
त्यसयता प्रतिपक्षी सांसदहरूले बजेटमा बिचौलियाहरू हावी भएको आरोप लगाउँदै निरन्तर बैठक अवरुद्ध गर्दै आएका छन्।
यस कार्यदलको गठनले अवरोध अन्त्य भई बजेटमाथि संसदीय छलफल सुचारु हुने अपेक्षा गरिएको छ।