पोखरा । लायन्स क्लब अफ पोखरा फिस्टेल सिटीको आयोजनामा पोखरामा सम्पन्न खुला रक्तदान कार्यक्रममा १२३ युनिट रगत सङ्कलन भएको छ ।
लायन्स इन्टरनेसनल ३२५ एम, नेपालको लायन वर्ष २०२६/२७ को ‘मानवताका लागि एकता’ भन्ने मूल नारासहित क्लबको वार्षिक कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिका-९, महेन्द्रपुलमा २०८३ असोज २२ गते रक्तदान कार्यक्रम आयोजना गरिएको हो । प्रादेशिक रक्तसञ्चार सेवा केन्द्र, पोखराको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको शुभारम्भ प्रमुख अतिथि नेपाल रेडक्रस सोसाइटी कास्कीकी सभापति उर्मिला खड्का भण्डारीले पहिलो रक्तदाता प्राज्ञा थापालाई ब्लड ब्याग हस्तान्तरण गरेर गर्नुभएको थियो ।
सभापति भण्डारीले लायन्सकर्मीले व्यक्तिपिच्छे एकएक रुपियाँ सङ्कलन गरेर समुदायस्तरमा विभिन्न सामाजिक गतिविधि तथा विपद्का समयमा निरन्तर सहयोग गर्दै आएको भन्दै प्रशंसा गर्नुभयो ।
उहाँले रगतको प्रत्येक थोपा कसैको जीवन बचाउने आशाको किरण बन्न सक्ने उल्लेख गर्दै मानवीय सेवाका यस्ता कार्यमा लायन्सले निरन्तर साथ र सहयोग पुर्याउँदै आएकोमा खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रम संयोजक लायन नारायण थापाले रक्तदान कार्यक्रममा १२३ युनिट रगत सङ्कलन भएको जानकारी दिनुभयो ।
कार्यक्रममा पूर्व डिस्ट्रिक्ट गभर्नर लायन धनिराम बराल, लायन दिनेशबाबु खड्का, लायन नरेश वेदी, लायन मेनबहादुर लामिछाने तथा निवर्तमान अध्यक्ष लायन भीमा पौडेलले रक्तदानका बारेमा विचार राख्नुभएको थियो ।
उहाँहरूले रक्तदानमार्फत अमूल्य योगदान गर्ने सम्पूर्ण रक्तदाताप्रति धन्यवाद व्यक्त गर्दै यस्ता मानवीय सेवाका कार्यमा सहभागी हुन सबैलाई शुभकामना तथा प्रेरणा दिनुभयो ।
लायन्स क्लब अफ पोखरा फिस्टेल सिटीका अध्यक्ष लायन खगेश्वर पन्थको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष लायन कुलबहादुर श्रेष्ठले स्वागत गर्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो ।
सचिव लायन कृष्ण श्रेष्ठले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा लायन्स लिडर, पदाधिकारी तथा क्लबका सदस्यहरूको उपस्थिति रहेको थियो ।