काठमाडौँ । प्रेस काउन्सिल नेपालले पछिल्लो एक वर्षको अवधिमा प्रेस स्वतन्त्रता हनन्का १ सय २१ ओटा घटना अभिलेख भएको जनाएको छ ।
काउन्सिलमा दर्ता भएका निवेदन र नियमित अनुगमनका आधारमा सन् २०२५ जनवरी १ देखि सन् २०२५ डिसेम्बर ३१ सम्मको अवधिमा ती घटना भएका हुन् ।
काउन्सिलद्वारा २०८२ पुस २८ गते जारी गरिएको विज्ञप्तिअनुसार अभिव्यक्ति स्वतन्त्रतासँग सम्बन्धित घटनामध्ये सबैभन्दा बढी बागमती प्रदेशमा ६३ ओटा घटना भएका छन् ।
त्यसपछि मधेश प्रदेशमा २७, सुदूरपश्चिममा आठ, कोशीमा सात, लुम्बिनी र गण्डकीमा ६/६ तथा कर्णाली प्रदेशमा पाँच ओटा घटना अभिलेख भएका छन् ।
घटनाको प्रकृतिका आधारमा हेर्दा कुटपिट, आक्रमण र दुर्व्यवहारका ४०, धम्की तथा दुर्व्यवहारका २०, कानुनी अवरोधका १५, पक्राउ/पक्राउ प्रयाससम्बन्धी पाँच, प्रशासनिक असुरक्षाका १५, शङ्कास्पद मृत्युका दुई, नीतिगत बन्देजका तीन र लैङ्गिक हिंसाका एक घटना भएका छन् ।
लैङ्गिक आधारमा हेर्दा एक वर्षको अवधिमा १ सय ३० जना पुरुष र १० जना महिला गरी जम्मा १ सय ४० जना पत्रकार तथा सञ्चारकर्मी प्रेस स्वतन्त्रता हनन्का कारण पीडित बनेको प्रेस काउन्सिलले जनाएको छ ।
त्यसैगरी, सोही अवधिमा प्रेस स्वतन्त्रताको दुरुपयोगसम्बन्धी १० ओटा घटना पनि अभिलेख भएको विज्ञप्तिमा उल्लेख छ ।
प्रेस स्वतन्त्रताको दुरुपयोगका घटना बागमती प्रदेशमा पाँच, मधेश प्रदेशमा चार र कर्णाली प्रदेशमा एक ओटा रहेका छन् ।
प्रेस काउन्सिल नेपालले प्रेस स्वतन्त्रता सुनिश्चित गर्न सबै पक्ष गम्भीर बन्नुपर्ने आवश्यकता औँल्याउँदै पत्रकारको सुरक्षाप्रति राज्य संयन्त्रको ध्यानाकर्षण गराएको छ ।
