पोखरा । कास्की जिल्लामा २०८२ सालको फागुन महिनामा १२ जनाले आत्महत्या गरेका प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार आत्महत्या गर्नेहरूमध्ये ११ जनाले झुण्डिएर र एक जनाले हतियार प्रयोग गरेर ज्यान लिएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार आत्महत्या गर्नेहरूमध्ये १० जना पुरुष र दुई जना महिला रहेका छन् ।
यसै अवधिमा जिल्लामा १७ ओटा सवारी दुर्घटना भएका छन्, जसमा १९ ओटा सवारी साधन क्षतिग्रस्त भएका छन् । दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन् ।
सडकमा सवारी साधन चेकजाँच गर्ने क्रममा ४ हजार ३ ओटा सवारी साधनबाट ३४ लाख ५० हजार ५ रुपियाँ राजस्व सङ्कलन भएको पनि प्रहरीले जनाएको छ ।
त्यसैगरी, विभिन्न विद्यालयका विद्यार्थी बोकेको बसका चालकहरूको परीक्षण गर्दा फागुन महिनाभर १० जना स्कुल बस चालक र ६ जना सार्वजनिक बस चालक मादक पदार्थ सेवन गरेर सवारी चलाएको अवस्थामा भेटिएका छन् ।
प्रहरीका अनुसार यसै अवधिमा १७ थान अवैध हतियार नियन्त्रणमा लिइएको छ । साथै पोखराको फेवातालमा डुङ्गा चलाउनेमध्ये चार जनाले लागुऔषध सेवन गरेको र एक जनाले मादक पदार्थ सेवन गरेको पत्ता लागेको प्रहरी प्रतिवेदनमा उल्लेख छ ।