पोखरा । खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्ने उद्देश्यले पोखरा र बागलुङका १२ होटल, रेस्टुरेन्ट तथा क्याटरिङ व्यवसायलाई स्तरीकरण लोगो र प्रमाणपत्र प्रदान गरिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागअन्तर्गत खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले ‘खाद्य स्वच्छताको आधारमा होटल रेस्टुरेन्ट स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका, २०७४’ बमोजिम २०८३ असोज २७ गते स्तरीकरण लोगो तथा प्रमाणपत्र प्रदान गरेको हो ।
कार्यालयका प्रमुख तथा वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विजन श्रेष्ठका अनुसार कास्की र बागलुङ जिल्लामा सञ्चालित होटल, रेस्टुरेन्ट तथा क्याटरिङ सेवाको अनुगमन र मूल्याङ्कन गरी खाद्य स्वच्छता, गुणस्तर व्यवस्थापन, सेवा तथा उपभोक्ता सुरक्षाका आधारमा स्तरीकरण गरिएको हो ।
कार्यालयले २०८३ भदौ र असोजमा गरेको अनुगमन तथा मूल्याङ्कनका आधारमा व्यवसायहरूलाई विभिन्न श्रेणीमा वर्गीकरण गरी हरियो स्टिकर तथा लोगो प्रदान गरेको जनाएको छ ।
‘अति उत्तम’ श्रेणीमा चार होटल
तीन तारा सहितको हरियो स्टिकर प्राप्त गर्ने ‘अति उत्तम’ श्रेणीका होटल तथा रिसोर्टमा टेम्पल बेल बुटिक होटल एण्ड स्पा प्रालि (पोखरा-६), अतिथि सुईट्स प्रालि (पोखरा-६), बर पिपल रिसोर्ट प्रालि (पोखरा-१८) र होटल अन्नपूर्ण भ्यू (पोखरा-१८) रहेका छन् ।
‘उत्तम’ श्रेणीमा चार व्यवसाय
दुई तारा सहितको हरियो स्टिकर प्राप्त गर्ने ‘उत्तम’ श्रेणीका व्यवसायमा रुपाकोट रिसोर्ट प्रालि (रुपा गाउँपालिका-६), सोल्टी होटल लिमिटेड फ्लाइट क्याटरिङ युनिट (पोखरा-१४, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल), अतिथि रिसोर्ट एण्ड स्पा पब्लिक लिमिटेड (पोखरा-६) र ड्रिम्स हिल्स प्रालि (बागलुङ-२) रहेका छन् ।
‘सन्तोषजनक’ श्रेणीमा चार होटल
खाद्य स्वच्छताका न्यूनतम मापदण्ड पूरा गरी ‘सन्तोषजनक’ श्रेणीमा परेका चार होटललाई पनि हरियो स्टिकर प्रदान गरिएको छ ।
तीमध्ये नमस्ते गेष्ट हाउस (पोखरा-८) ले दुई तारा तथा ठानामौला होटल (पोखरा-८), आरुष शुभकामना होटल (पोखरा-८) र हरिकृष्ण लज (पोखरा-८) ले एकएक तारा सहितको हरियो स्टिकर प्राप्त गरेका छन् ।
खाद्य अनुसन्धान अधिकृत रञ्जना चौधरीले स्तरीकरण प्रक्रिया सम्पन्न भएपछि सम्बन्धित व्यवसायलाई लोगो तथा प्रमाणपत्र वितरण गरिएको जानकारी दिनुभएको छ ।
कार्यालयका अनुसार स्तरीकरणका लागि १०० अङ्कको मूल्याङ्कन प्रणाली अपनाइन्छ । यसअन्तर्गत खाद्य स्वच्छता तथा व्यवस्थापनसँग सम्बन्धित ५० ओटा क्षेत्रको मूल्याङ्कन गरी होटल तथा रेस्टुरेन्टको स्तर निर्धारण गरिन्छ ।
खाद्य पदार्थको व्यवसायमा नाफासँगै उपभोक्ताको स्वास्थ्य र हितलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै कार्यालयले सुरक्षित तथा गुणस्तरीय खाद्य सेवा प्रवाहका लागि खाद्य स्वच्छताका मापदण्ड पालना गर्नु व्यवसायीको महत्त्वपूर्ण जिम्मेवारी रहेको जनाएको छ ।