पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरा क्षेत्रमा अवैध रूपमा सुन र चाँदी कारोवार गर्ने ११ जनालाई पक्राउ गरि २०८२ साउन २४ गते सार्वजनिक गरेको छ ।
“अप्रेसन यलो मेटल” नाम दिइएको विशेष अभियान अन्तर्गत पोखरा महानगरपालिका को वडा नम्बर २, ३, ४ र ९ का क्षेत्रमा प्रहरीले गोप्य सूचनाको आधारमा छापा मारेर ११ जना सहित उनीहरूबाट ठुलो परिणाममा सुन तथा चाँदी समेत बरामद गरेको पत्रकार भेटघाट कार्यक्रममा प्रहरी उपरीक्षक श्यामबाबु ओलीयाले जानकारी दिनु भयो ।
गण्डकी प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका युनिटहरूको संयुक्त टोलीले भारत घर भएका अधिकांश कालिगढहरूले अवैध रूपमा सुन तथा चाँदीको कारोवार गरेको आधारमा पक्राउ गरिएको प्रहरी उपरीक्षक श्यामबाबु ओलीयाले बताउनु भयो ।
बिना बिलबिजकको सुन तथा चाँदीको कारोवार गरेको आधारमा आरोपितहरूलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक ओलियाले बताउनु भयो ।
आरोपितहरूको साथबाट कास्की प्रहरीले ६ केजी ४ सय ग्राम (५४९ तोला ४० लाल) सुन, ४ सय ४४ तोला (७३.९ लाल) चाँदी र नगद ५ लाख १४ हजार ६ सय ६५ रुपियाँ बरामद गरिएको छ ।
बरामद गरिएका सुन–चाँदीको बजार मुल्य करिब १३ करोड रुपियाँ पर्ने अनुमान गरिएको प्रहरी नायव उपरीक्षक हरीबहादुर बस्नेत बताउनु भयो । २०८२ साउन ४ गते देखि यस्तो अप्रेसन सञ्चालन गरिएको उहाँको भनाइ छ ।
पक्राउ पर्नेमा भारतको महाराष्ट्रका ४१ वर्षीय राजेन्द्र रामचन्द्र जगताप, पश्चिम बङ्गालका ३५ वर्षीय सन्दिप ढाव, ४१ वर्षीय सोमनाथ पाल, ४७ वर्षीय दिपक सामन्त, ४७ वर्षीय गोविन्द दिण्डा, ३५ वर्षीय असित वर, ४४ वर्षीय तापस सामन्त, ३८ वर्षीय उज्वल भोमिक, ४० वर्षीया सुनिता पवार, ४९ वर्षीय प्रोभास माझी र ४५ वर्षीय मनिक लाल आदक रहेको प्रहरीले जनाएको छ ।
बरामद सामग्री र पक्राउ परेका सबैलाई आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइने प्रहरी नायव उपरीक्षक बस्नेतले जानकारी दिनु भयो ।
सुन चाँदी व्यवसायी संघ कास्कीका अध्यक्ष भविन्द्र विश्वकर्माले यो घटनाप्रति आपति जनाउनु भएको छ ।
प्रहरी प्रशासनले फिल्मि शैलीमा छापा मारेर व्यवसायी र कालिगढलाई निरास बनाउने काम गरेको उहाँको भनाइ छ ।
प्रहरीले भने जस्तो यो सुन तथा चाँदी अवैध नभई केही व्यवसायको, केही आफ्नो कमाइको र केही बिल बिजक नभएका ग्राहकहरुको समेत सुन भएको उहाँले दावी गर्नुभयो ।
उहाँका अनुसार बङ्गाली कालिगढहरूले २०८२ साउन २५ गतेदेखि पोखरा क्षेत्रमा सुन चाँदीका कुनै पनि सामानहरू नबनाउने गरी कम ठप्प पार्ने भएका छन् ।