मानव आवाज

२०८३ बैशाख १० गते
00: 00: 00
२०८३ बैशाख १० गते

दशौँ पोखरा स्पोर्टस अवार्ड वैशाख १८ मा हुने

पोखरा । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने दशौँ पोखरा स्पोर्टस अवार्ड आगामी वैशाख १८ गते पोखरामा आयोजना हुने भएको छ ।

२०८२ चैत २३ गते पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत अवार्डअन्तर्गतको ‘पिपुल्स च्वाइस अवार्ड’ का लागि आईएमई खल्ती प्रालिले सहकार्य गर्ने जानकारी दिइयो ।

मञ्चका कार्यवाहक अध्यक्ष राजाराम पौडेलले उक्त विधाका लागि खल्तीले अनलाइन भोटिङ व्यवस्थापनमा सहकार्य गर्ने बताउनुभयो ।

२०७२ सालदेखि निरन्तर आयोजना हुँदै आएको यस अवार्डको दशौँ संस्करण आठ विधामा सञ्चालन हुनेछ। विगतका केही संस्करणमा स्थगित रहेको ‘पिपुल्स च्वाइस अवार्ड’ यसपटक पुनः सञ्चालनमा ल्याइएको हो ।

उक्त विधाअन्तर्गत पाँच उत्कृष्ट खेलाडीबीच प्रतिस्पर्धा हुने र अनलाइन भोटिङमार्फत विजेता छनोट गरिनेछ। विजेताले पुरस्कारस्वरूप टीभीएस एनटर्क स्कुटर प्राप्त गर्नेछन् । उक्त पुरस्कार पोखरास्थित गुरुङ गहना घर प्रालिले प्रायोजन गरेको हो ।

कार्यक्रममा आईएमई खल्ती प्राली गण्डकी प्रदेशका इन्चार्ज एण्डिज बस्नेत र मञ्चका कार्यवाहक अध्यक्ष पौडेलबीच सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो ।

प्रदेश इन्चार्ज बस्नेतले खल्तीले विगत पाँच वर्षदेखि पोखरामा सेवा विस्तार गर्दै आएको र यस अवधिमा पोखरा तथा आसपास क्षेत्रमा दुई दर्जनभन्दा बढी कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिसकेको अनुभव रहेको जानकारी दिनुभयो ।

अवार्ड कार्यक्रमलाई गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद् गण्डकी, पोखरा महानगरपालिका लगायत कास्कीका पाँचै पालिका तथा विभिन्न सामाजिक सङ्घसंस्थाले सहयोग गर्ने क्रम जारी रहेको अध्यक्ष पौडेलले बताउनुभयो ।

कार्यक्रममा गुरुङ गहना घर प्रालिका प्रतिनिधि सीमा गुरुङ तथा गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य विनय थापाले पोखराको मात्र नभई समग्र गण्डकी प्रदेशकै खेल क्षेत्रलाई उर्जावान बनाउन यस्ता कार्यक्रम महत्त्वपूर्ण हुने धारणा राख्नुभयो ।

कार्यक्रम सफल बनाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुनेमा जोड दिइएको थियो । मञ्चका कार्यवाहक अध्यक्ष राजाराम पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव परशुराम शर्माले गर्नुभएको थियो ।

Author

Related News