मानव आवाज

२०८३ बैशाख १० गते
00: 00: 00
२०८३ बैशाख १० गते

गण्डकी अटो मेकानिकलमा सीप परीक्षण तालिमबाट १० जना दीक्षित

पोखरा । “मबाट हामी बन्न चाहनेहरूका लागि दुःखसुखको चौतारी” भन्ने नारासहित २०४९ सालमा स्थापित गण्डकी अटो मेकानिकल वर्क्स एशोसिएसन, पोखराको आयोजनामा २०८३ सालको भित्तेपात्रो (क्यालेन्डर) विमोचन तथा सीप परीक्षण तह-२ को दीक्षान्त कार्यक्रम सम्पन्न भएको छ ।

पोखरा महानगरपालिका-९, बास्तोलाथरमा २०८२ चैत १४ गते आयोजित कार्यक्रममा प्रमुख अतिथि प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् गण्डकी प्रदेशका सहप्रबन्धक जीवन भण्डारीले प्रमाणपत्र केवल प्राप्तिका लागि नभई त्यसको सही प्रयोग गर्दै पेशाको मर्यादा कायम राख्न प्रशिक्षार्थीहरूलाई आग्रह गर्नु भयो ।

उहाँले प्रविधिसँग निरन्तर जोडिँदै दक्षता अभिवृद्धि गर्दै अघि बढ्नुपर्नेमा जोड दिनु भयो । साथै व्यवसाय सञ्चालन गर्दा स्वच्छ, सफा, सुन्दर र व्यवस्थित वातावरण कायम गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा एशोसिएसनका अध्यक्ष विष्णुप्रसाद अधिकारीले विभिन्न सवारी साधनहरूको मर्मत सम्भारमा संलग्न मेकानिक्सहरूको साझा संस्थाले विगत ३३ वर्षदेखि पोखरामा मेकानिक्स तथा व्यवसायीहरूको हकहितका लागि काम गर्दै आएको जानकारी दिनु भयो ।

उहाँका अनुसार संस्थाले क्यालेन्डर प्रकाशन, वार्षिक उत्सव, रक्तदान कार्यक्रम, सीप स्तरोन्नति तालिम, व्यवसाय प्रवर्धन तथा वर्कसप व्यवस्थापनसम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

कार्यक्रममा नेपाल अटो मेकानिक्स व्यवसायी महासङ्घका स्वास्थ्य सल्लाहकार रविन्द्रप्रसाद श्रेष्ठ, प्रेस सल्लाहकार कृष्णबहादुर थापा, बरिष्ठ उपाध्यक्ष कुलबहादुर नेपाली तथा क्यालेन्डर उपसमिति संयोजक अमृत तिमिल्सिनालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् गण्डकी प्रदेश, पोखराका सीप विकास परीक्षक कुन्दन शर्मा तथा एसओएस व्यावसायिक तालीम केन्द्र छोरेपाटनका सीप विकास परीक्षक कुन्दन केसीले कार्यक्रम सहजिकरण गर्नुभएको थियो ।

राष्ट्रिय सीप परीक्षण समितिद्वारा निर्धारित मापदण्डअनुसार २०८२ कात्तिक १७ गतेदेखि २३ गतेसम्म सञ्चालन गरिएको लाइट भेइकल मेकानिक व्यवसाय तह-२ को सीप परीक्षणमा सहभागी १४ जनामध्ये १० जना दीक्षित भएका छन् ।

दीक्षित हुनेहरूमा निहाल अन्सारी, अमृत तिमिल्सिना, सहजाद आलम, जयप्रकाश शर्मा, सुनिल घताने, चन्द्रकान्त विक, विधान बस्ताकोटी, अनुराग चौधरी, विजेन्द्र चौधरी र भुवन जिसी रहनु भएको छ । दीक्षितहरूलाई राष्ट्रिय सीप प्रमाणपत्र प्रदान गरिएको थियो ।

एशोसिएसनका अध्यक्ष विष्णुप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत मन्तव्य कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता माधवराज बास्तोलाले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन महासचिव विजेन्द्र चौधरीले गर्नुभएको थियो ।

Author

Related News