रुद्र बहादुर खड्का,सिन्धुली ।
दुधौली नगरपालिकाको २०८२ पुस ३ गतेबाट कमला बहुमूखी क्याम्पस दुधौली मा १० दिने आधारभूत फोटो तथा भिडियो सम्पादन तालिम सुरु भएको छ |
‘सीप सिकौँ, उद्धमी आत्मनिर्भर बनौँ’ भन्ने मूल नाराका साथ उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीको आयोजनामा श्री कमला बहुमूखी क्याम्पस दुधौलीका विद्यार्थीहरूलाई लक्षित गरी तालिम सञ्चालन गरिएको हो ।
कार्यक्रममा प्रदेश सरकारको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन पूर्वमन्त्री सुकुमाया तामाङले सीप आजको समयको अनिवार्य आवश्यकता भएको बताउनु भयो ।
उहाँले औपचारिक शिक्षासँगै व्यवहारिक सीप नहुँदा जीवन अधुरो रहने उल्लेख गर्दै सबैलाई कुनै न कुनै सीपसँग जोडिनुपर्ने धारणा व्यक्त गर्नु भयो ।
डिजिटल युगमा फोटो तथा भिडियो जस्ता सीपहरू अत्यन्तै महत्वपूर्ण रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा प्रदेशसभा सदस्य मात्रिका भटटराईले जिल्लामा युवा रोजगारी र स्वरोजगार सिर्जनाका लागि सीपमूलक तालिमलाई प्राथमिकता दिइएकोमा खुशी व्यक्त गर्नु भयो ।
उहाँले दुधौलीमा सञ्चालन भएको यस तालिमले युवाहरूलाई डिजिटल प्रविधिसँग जोड्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो ।
त्यसैगरी उद्योग तथा वाणिज्य कार्यालय सिन्धुलीका प्रमुखले जिल्लाभर विभिन्न प्रकारका सीपमूलक तालिमहरू निरन्तर रूपमा सञ्चालन हुँदै आएको जानकारी गराउनु भयो ।
२५ जना सहभागी रहेको तालिमको सहजीकरण राष्ट्रिय फोटो पत्रकार समूह सिन्धुलीका अध्यक्ष उद्धवकुमार श्रेष्ठले गरिरहनु भएको छ ।
तालिमले सहभागीहरूलाई फोटो तथा भिडियो उत्पादनमा आधारभूत ज्ञान र सीप प्रदान गर्ने अपेक्षा गरिएको छ |