सिन्धुली । रसुवा जिल्लामा हालै गएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सिन्धुलीका होटल व्यवसायीहरूले १ लाख ४ हजार २ सय ८५ रुपियाँ सहयोग गरेका छन् ।
होटल सङ्घ नेपाल (हान) सिन्धुली तथा आबद्ध सदस्य व्यवसायीहरूबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।
हान सिन्धुलीका अध्यक्ष चन्द्रदेव श्रेष्ठको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, सिन्धुली पुगेको व्यवसायीहरूको टोलीले प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठलाई सहयोग रकम जम्मा गरेको बैङ्क भौचर प्रदान गरेको छ ।
उक्त रकम एभरेस्ट बैङ्क लिमिटेडमा रहेको सम्बन्धित खातामार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हान सिन्धुलीले जनाएको छ ।
प्राकृतिक विपद्मा परेका नागरिकको उद्धार तथा पुनःस्थापनामा थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले संस्थागत तथा व्यक्तिगत रूपमा रकम सङ्कलन गरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले विपद्को कठिन घडीमा सामाजिक उत्तरदायित्व वहन गर्दै सहयोग गरिएको बताउनुभयो ।
प्रदान गरिएको कुल रकममध्ये हान सिन्धुलीको कोषबाट ५० हजार रुपियाँ र बाँकी ५४ हजार २ सय ८५ रुपियाँ सदस्य व्यवसायीहरूले व्यक्तिगत तथा संस्थागत रूपमा उपलब्ध गराएका हुन् ।
सहयोग गर्ने व्यवसायी तथा प्रतिष्ठानहरूमा गणपती होटल रिसोर्ट प्रालि ८ हजार, गोविन श्रेष्ठ (भ्याली भ्यू होटल इन प्रालि) ५ हजार १ सय २५, नवराज श्रेष्ठ (रानी मैरी रिसोर्ट प्रालि) ५ हजार ५, चन्द्रदेव श्रेष्ठ (यात्री निवास प्रालि) ५ हजार, नेत्रजङ्ग थापा (प्रयास होटल प्रालि) ५ हजार, रमेश प्रजापती (होटल सिन्धुली इन) ५ हजार, नविन श्रेष्ठ (होटल नारिया) ५ हजार र अमरदिप थापा (पर्पल गार्डेन) ५ हजार रुपियाँ रहेका छन् ।
त्यसैगरी भिम श्रेष्ठ (होटल पाहुना घर) ४ हजार, जनकराज पौडेल (शिखर होटल) ३ हजार, अन्जना थापा (होटल ग्रिन भ्याली) ३ हजार र अनिरुद्र श्रेष्ठ (होटल स्टार) १ हजार १ सय ५५ रुपियाँ सहयोग गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीले व्यवसायीहरूले गरेको मानवीय सहयोगको प्रशंसा गर्दै सङ् कलित रकम सम्बन्धित कोषमार्फत तत्काल प्रभावित नागरिकसम्म पुर्याउन आवश्यक समन्वय गरिने जनाएको छ।