मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

प्रहरी पेट्रोल पम्पले गुणस्तरीय इन्धन प्रदान गर्नुपर्छ : प्रहरी महानिरीक्षक खापुङ

पोखरा । पोखरा महानगरपालिका-६ सहिदचोकस्थित नेपाल प्रहरी प्रदेश कार्यालयको परिसरमा नवनिर्मित नेपाल प्रहरी कल्याण कोष पेट्रोल पम्पको शुक्रबार प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङले भर्चुअल माध्यमबाट उद्घाटन गर्नु भयो ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खापुङले समाजमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्न नेपाल प्रहरीले समुदायसँग सहकार्य गर्दै आएको बताउनु भयो ।

उहाँले प्रहरी कल्याण कोष अन्तर्गत सञ्चालनमा आएको पेट्रोल पम्पले गुणस्तरीय र विश्वासिलो इन्धन उपलब्ध गराउने मात्र होइन, प्रहरी र नागरिकबीचको विश्वास, समन्वय र सहकार्य अझ प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक दिनेश कुमार आचार्य, नेपाल प्रहरी कल्याण कोषका प्रहरी वरिष्ठ उपरीक्षक सञ्जयसिंह थापा, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की लगायतका अतिथिहरूले शुभकामना मन्तव्य राख्दै प्रहरीले व्यवसायिक प्रतिस्पर्धा होइन, सेवामूलक भावनाका साथ नागरिकलाई सहज, सर्वसुलभ र गुणस्तरीय सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिनु भयो ।

त्यस अवसरमा प्राविधिक प्रहरी नायब उपरीक्षक चिरञ्जीवी प्रताप महतोले पेट्रोल पम्प निर्माणसम्बन्धी प्रगति प्रतिवेदन प्रस्तुत गर्दै ९ करोड ९४ लाख ७४ हजार ६ सय ७६ रुपियाँको लागतमा पम्प र सम्बन्धित पूर्वाधारहरूको निर्माण कार्य सम्पन्न भएको जानकारी दिनु भयो ।

२०८२ असोज ७ गतेदेखि सञ्चालनमा आएको उक्त पेट्रोल पम्पबाट २४ घण्टा नै पेट्रोल र डिजेल बिक्रीवितरण हुँदै आएको छ ।

पम्पका इन्चार्ज प्रहरी नायब निरीक्षक उदयश्वर अधिकारीका अनुसार यसबाट सरकारी कार्यालयहरू, राष्ट्र बैङ्क चोक, रत्नचोक, ड्यामसाइड, लेकसाइड, मासबार लगायत क्षेत्रका बासिन्दा सहज र सुलभ सेवा पाउँदै आएका छन् ।

कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरूका साथै जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरू, स्थानीय तहका जनप्रतिनिधिहरू, विभिन्न सङ्घसंस्थाका प्रमुख एवम् पदाधिकारीहरू, सञ्चारकर्मीहरू, स्थानीय बुद्धिजीवीहरू लगायत प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

Author

Related News