ललितपुर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनको भविष्य अझै रहेको बताउनु भएको छ ।
काठमाडौँको कीर्तिपुरमा २०८२ साउन ७ गते आयोजित ४७ औं पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कम्युनिष्ट आन्दोलनको भविष्य सुन्दर भएकाले निराशा हुनु नपर्ने बताउनु भएको हो ।
उहाँले आन्दोलनका क्रममा आइलाग्ने चुनौति देखेर आत्तिने, डराएर भाग्ने प्रवृत्तिको भण्डाफोर गर्नु पर्ने बताउँदै चुनौति आए भनेर निराश हुनुपर्ने आवश्यकता नरहेको बताउनु भएको हो ।
चुनौतिको सामना गर्दै उद्देश्यअनुसार अघि बढ्न सके सही लक्ष्य हासिल गर्न सकिने उहाँको विश्वास छ ।
अध्यक्ष नेपालले आन्तरिक विषयलाई पार्टीकै बैठकमा राखेर सुझाउनु पर्ने बताउँदै बैठकमा निर्धक्क आफ्ना कुरा राख्न पाइने उल्लेख गर्नु भयो ।
पार्टीको विरुद्धमा कसैले निराशाको प्रचार गर्छ, पार्टीका विरुद्धमा लाग्छ, जथाभावी बोल्छ, अनुशासन तोड्छ भने त्यसको प्रतिवाद हुने पनि उहाँले बताउनु भएको छ ।